![](https://sambadnepal.com/wp-content/uploads/2024/11/320x405-1.png)
![](https://sambadnepal.com/wp-content/uploads/2024/11/320x405-1.png)
कावासोती । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवलपरासी- पूर्व नवलपुरको नमूना सदरमुकाम निर्माणमा देखिएका समस्या समाधान गर्ने विश्वास दिलाउनुभएको छ ।
नवलपुरको कावासोतीमा जिल्ला समन्वय समिति नवलपुरले शनिवार आयोजना गरेको नमूना सदरमुकाम निर्माणसम्बन्धी अन्तरक्रियामा मन्त्री सिंहले सदरमुकाम निर्माणका लागि बजेटको व्यवस्था भए पनि रूख कटानको विषयले गर्दा काम अघि बढ्न नसकेकोले यसको गाँठो फुकाउन आफूले पहल गर्ने बताउनुभयो ।
रूख कटान तथा भूमिको विषयमा सम्बन्धित मन्त्रीसँग समन्वय गरी सदरमुकाम निर्माणमा देखिएको प्राविधिक समस्या समाधानमा चाँडै पहल गर्ने उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।
देश केन्द्रीकृत एकात्मक व्यवस्थाबाट सङ्घीयतामा गएपछि नवलपुरमा बन्न लागेको नमूना सदरमुकाम सबैले हेर्न चाहेकाले यसलाई कार्यान्वयनका लागि विधि, प्रक्रिया पूरा गर्न आफू लागिरहेको जानकारी गराउँदै यस्को निर्माणमा थप पहल गर्ने बताउनुभयो ।
गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री जिसी श्रेष्ठले नमूना सदरमुकाम निर्माण नहुँदा सेवाग्राहीहरूलाई सेवा लिन असहज भएको बताउनुभयो । छरिएर विभिन्न स्थानमा भाडामा रहेका कार्यालयका कारण सेवाग्राहीलाई सहज सेवा लिन असुविधा भएको भन्दै चाँडै निर्माणको काम थाल्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य दमयन्ती रूचालले आफूहरूले पटक पटक सदरमुकामको काम अघि बढाउन केन्द्र सरकारसँग समन्वय गरिरहेको भए पनि सोहीअनुसार गति लिन नसकेको बताउनुभयो ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले राज्य पुनःसंरचनापछि नवलपुरको सदरमुकाम बनाउने विषय यो जिल्लाको मात्र नभएर देशकै दायित्व भएको बताउनुभयो ।
नवलपुरको कावासोतीमा रहेको एक सय ८४ बिघा जग्गामा सङ्घ, प्रदेश र जिल्लाका आवश्यक कार्यालयहरू निर्माण गर्नेगरी नमूना सदरमुकाम निर्माणको योजनाअनुरूप विसं २०७६ वैशाख ७ मा नमूना सदरमुकाम निर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।
निर्माणको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनले गत आर्थिक वर्षमा विनियोजित ५० करोडमा तीनवटा भवन निर्माणका लागि ठेक्का लगाएको छ ।
सोही अनुसार रौतहटको चौधरी कन्स्ट्रक्सनले भवन निर्माणको जिम्मा पाएको छ । तर भवन निर्माणस्थलमा रूख कटानको आदेश नआउँदा काम अघि बढ्न नसकेका सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाले बताउनुभयो ।
यस वर्ष पनि ८० करोड विनियोजन भएको र थप भवन तथा सभा हललगायत संरचना निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी गरिएको उहाँले बताउनुभयो । अहिले ४ अर्बको स्रोत सुनिश्चितताको सहमति प्राप्त भएको र रूख कटानको समस्या समाधान हुने बित्तिकै काम अघि बढी हाल्ने प्रमुख थापाले बताउनुभयो ।
नमूना सदरमुकाम निर्माणस्थलमा करिब पाँच सय ५२ वटा रूख तथा ९० वटा साना पोल कटान गर्नुपर्नेछ । यसका लागि वन मन्त्रालयले स्वीकृत नदिँदा सदरमुकाम निर्माणको काम अघि बढ्न सकेको छैन ।
कावासोतीको नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घ र प्रदेश मातहतका कार्यालयहरू निर्माण गर्नेगरी प्रारम्भिक गुरूयोजना तयार पारिएको छ । साथै पुस्तकालय, सभाहल, बैङ्क, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका संरचनाहरू निर्माण गर्ने योजना रहेको छ । रासस
प्रतिक्रिया