काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १० भ्रातृ संस्थाको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गर्नका लागि बुधवार निर्देशन समिति गठन गर्नुभएको हो ।
पार्टीको विधान बमोजिम गठन गरिएको उक्त समितिले महाधिवेशन सम्पन्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पु¥याई आवश्यक निर्देशन दिनसक्ने व्यवस्था गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसले नेपाल दलित सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री जीवन परियार, नेपाल महिला सङ्घको संयोजकमा प्रवक्ता डा प्रकाशशरण महत, नेपाल किसान महासङ्घको संयोजकमा रमेश रिजाल र नेपाल भूतपूर्व सैनिक सङ्घको संयोजकमा एनपी साउद लाइ जिम्मेवारी दिइएको छ ।
त्यस्तै, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको संयोजकमा मोहनबहादुर बस्नेत, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको संयोजकमा मधु आचार्य, नेपाल थारू सङ्घको संयोजकमा उदयशम्शेर राणा र नेपाल प्रजातन्त्र सेनानी सङ्घको संयोजकमा प्रा डा गोविन्दराज पोखरेल रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रतिक्रिया