काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल सबैभन्दा आकर्षक गन्तव्यस्थलको रुपमा रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा उहाँले हाम्रा हिमाल जलवायु जोखिमको चपेटामा पर्दै आएको उल्लेख गर्नुभयो । पर्वतीय क्षेत्रका जैविक विविधताको ह्रास रोक्न र यस क्षेत्रको जलवायु जोखिमलाई सम्बोधन गर्न नेपालले खेलेको भूमिका प्रसंशनीय रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा वन राज्यमन्त्री रुपा विकले नेपालका हिमालहरू वनस्पति र वन्यजन्तुहरूको भण्डारण भएको उल्लेख गर्दै मूल्यवान जैविक विविधताको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रियसभाको दिगो विकास, आर्थिक सहायता तथा सुशासन समितिका सभापति कमलादेवी पन्त, प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुशुमदेवी थापा, राष्ट्रियसभा सांसद अन्जना शाक्य, वनसचिव डा दीपककुमार खराल, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर हाम्दी, इसिमोडका महानिर्देशक डा पेमा ग्याम्च्यो लगायतले जीवनलाई दिगो बनाउन हिमालको भूमिका बारेमा प्रकाश पार्नुभएको थियो । रासस
प्रतिक्रिया