काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौँको बिभिन्न ठाउँबाट तीन जनालाई पक्राउ गरी आज बुधवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२५ घर भई काठमाडौँको टोखा नगरपालिका-६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका-१२ घर भई काठमाडौँ महानगरपालिका-२८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा सिरहा नगरपालिका-७ घर भई काठमाडौँ बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका ३० वर्षीया दिव्या यादव रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक आचार्यले भन्नुभयो, “पक्राउमध्ये मधुले रोमानिया पठाइदिने भन्दै तीनजना पीडितहरुबाट ७ लाख, गीताले युके पठाइदिने भन्दै आठजना पीडितबाट १६ लाख ५ हजार तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एकजना पीडितबाट ५ लाख १५ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”
प्रहरीले मधुलाई टोखा-६ बाट र गीतालाई काठमाडौँ-२८ बाट तथा दिव्यालाई न्यूरोडबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउपर्नेमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो । रासस
प्रतिक्रिया