logo
१० माघ २०८१, बिहीबार

रास्वपाका नेताहरूसँग अदालतले लिखित जवाफ माग्यो

रास्वपाका नेताहरूसँग अदालतले लिखित जवाफ माग्यो

काठमाडौँ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

अनुसन्धानको चरणमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको विषयलाई जोडेर अदालतको अवहेलना हुनेगरी सार्वजनिकरूपमा अभिव्यक्ति दिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दायर गर्नुभएको थियो ।

निवेदनमा रास्वपाका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउनेलगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको थियो ।

अवहेलना सम्बन्धी निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोषिमा कार्की, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ । सर्वोच्चले विपक्षी बनाइएका सबैसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।

TOP