काठमाडौँ । यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिनुभएको छ । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ ।
गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएको हो भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिनुभएको छ । बिष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागार्इं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ ।
उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । पौडेल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुनुहुन्छ ।
त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार हुनुहुन्छ भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ ।
५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १ सय ३३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यतालिकाको समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
प्रतिक्रिया