logo
७ माघ २०८१, सोमबार

‘डढेलो र आगलागीबाट जन-धनको ठूलो क्षति हुनसक्छ’

‘डढेलो र आगलागीबाट जन-धनको ठूलो क्षति हुनसक्छ’

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ । दैनिक आगलागीका घटना भइरहेका छन् ।

वर्षा नभएको र चिसो मौसम बढिरहेकाले पनि अबको समय आगलागीको उच्च जोखिम हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ ।

एक त ज्वलनशील वस्तु जम्मा हुन थालेको र अर्काे जाडोमा आगो ताप्ने चलनले आगलागी र डढेलो बढ्छ ।

अबको केही समयपछि डढेलोको जोखिम पनि उत्तिकै हुने भएकाले अहिलेदेखि नै तयारी थालिएन भने बढ्दो डढेलोको जोखिमले मानव तथा भौतिक सम्पत्तिमा ठूलो क्षति हुनसक्नेतर्फ विज्ञहरूले सचेत गराएका छन् ।

विज्ञहरूका अनुसार पछिल्लो एक दशकको तथ्याङ्क अध्ययन गर्दा नेपालमा डढेलोका कारण ठूलो जनधनको क्षति हुन थालेको छ ।

विज्ञहरूले डढेलो लागेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले डढेलो लाग्न नदिने उपाय खोजी गरी पूर्वतयारीलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा सुझाव दिएका
छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोसम्बन्धीका विज्ञ सुदीप छतकुलीले आगलागीबाट नेपालमा १३ जिल्ला अति संवेदनशील र ११ जिल्ला संवेदनशील रहेको जानकारी दिँदै पछिल्लो समयमा डढेलो बढ्दै जानु चुनौतीको विषय भएको बताउनुभयो ।

उहाँले जङ्गलमा पतकर, काठ तथा वन पैदावर बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेकाले त्यसको व्यवस्थापन जरूरी रहेको बताउनुभयो । उहाँका अनुसार गएको वर्ष नेपालका ७४ जिल्ला डढेलो र आगलागीबाट प्रभावित भएको छ ।

शतप्रतिशतजस्तै डढेलो मानवीय कारणले लाग्ने गरेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार ६४ प्रतिशत मानिसले जानीजानी डढेलो लगाउने गरेका छन् । एकतीस प्रतिशत हेल्चक्रयाइँका कारण डढेलो लाग्ने गरेको छ ।

डढेलोसम्बन्धीका अध्यक्ष एवं अर्का डढेलोसम्बन्धी विज्ञ डा कृष्ण भुजेलले आगलागी हुने दिन पनि बढ्दै गएको बताउनुभयो ।

नेपालमा तथ्याङ्क हेर्दा बढी लुम्बिनी प्रदेशमा डढेलो लागेको छ । त्यसपछि सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश प्रदेश, कोशी र गण्डकीमा डढेलोका घटना भएको छ ।

केही वर्षहरूमा गरिएको अध्ययनले डढेलो लाग्ने क्रम बढ्नु र क्षति पनि बढाउँदै लैजानुले डढेलो लाग्ने मौसमभन्दा केही महिना अगाडिदेखि नै रोकथामको तयारी थाल्न जरूरी रहेको उहाँले सुनाउनुभयो ।

जङ्गल व्यवस्थापन प्रभावकारी नहुनु, वनपैदावर र जल्ने वस्तु थुप्रिँदै जानु, कृषि भूमि बाँझिदै गएर जङ्गलमा परिणत हुनु र त्यसले बस्तीसम्म फैलिँदा घरमा पनि डढेलो पुग्नु, जलवायु परिवर्तनलगायत कारण आगलागी बढिरहेको विज्ञहरू बताउँछन् ।

डा भुजेलले अब ज्वलनशील पदार्थ जङ्गलबाट हटाउन नसके डढेलो र आगलागी भयावह हुनेतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो ।

वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक दीपक ज्ञवाली गएको वर्ष ७४ जिल्लामा पाँच हजारभन्दा बढी डढेलोका घटना भएको जानकारी गराउँदै जङ्गल र घरसँगसँगै जोडिन पुग्दा जङ्गलमा लागेको डढेलो घरसम्म आइपुग्ने गरेको र जनधनको क्षति भइरहेको बताउनुहुन्छ । रासस

ताजा अपडेट
TOP