काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राविधिकरणलाई निर्देशन दिनुभएको छ ।
बुधबार जमलस्थित प्राधिकरणको कार्यालय अनुगमनपछि मन्त्री गुरुङले बोर्ड निर्देशक एवं कर्मचारीलाई निर्देशन दिनुहुँदै सेवाप्रदायकसँग समन्वय गरेर जतिसक्दो छिटो आरटिडिएफ परिचालन गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री गुरुङले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली डिजिटल नेपाल बनाउने अभियान साकार पार्न मन्त्रालय अन्तर्गत संस्थानको सहकार्य आवश्यक रहेको बताउनुभयो । सबै स्थानीय त र प्रदेशमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमस) लागू गराउन सकियो भने भ्रष्टाचार नियन्त्रणमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ थियो ।
सो अवसरमा सञ्चार मन्त्री गुरुङले यस वर्ष जसरी भए पनि देशैभरी फोरजीको सेवा विस्तार गर्न निर्देशन दिनुभयो । काठमाडौँ महानगरपालिकामा फाइभजी सेवा सुरु गर्न लागिएको समेत उहाँले जानकारी दिनुभयो ।
मन्त्री गुरुङसँगै अनुगमन पुग्नुभएका सञ्चार सचिव राधिका अर्यालले प्राधिकरणको नियमनकारी भूमिका थप प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले दूरसञ्चार ऐन २०५३ संशोधनको प्रक्रियामा रहेको र यसका केही विषयमा बृहत छलफल आवश्यक रहेको समेत धारणा राख्नुभयो ।
उक्त अवसरमा प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले कार्यालयका समस्या, कार्य चुनौती र भावी योजनाबारे जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया