logo
१० माघ २०८१, बिहीबार

देशको अर्थतन्त्र लयमा फर्किदैछ : कावा प्रधानमन्त्री सिंह

देशको अर्थतन्त्र लयमा फर्किदैछ : कावा प्रधानमन्त्री सिंह

चन्द्रपुर । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र फेरि लयमा फर्किदै गरेको बताउनुभएको छ ।

रौतहटको गढीमाई नपा–४ सुन्दरपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेला महोत्सव २०८१ को मंगलवार उद्घाटन गर्नुहुँदै कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

देशको अर्थतन्त्र सुधार गर्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू अहिले चीन भ्रमणमा रहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप उँचाइमा पुग्ने र देशको अर्थतन्त्र मजबुत र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विदेशी मित्रराष्ट्रहरूसँग अनुदान लिएर भए पनि सरकारले देशलाई विकसित र समृद्ध बनाउन कुनै कसर बाँकी नराखेको भन्दै कार्यवाहक प्रधानमन्त्री सिंहले देश विकासको गतिमा अगाडि बढाउन, गरिबी र बेरोजगारी अन्त्य गर्न सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो ।

मेला उद्घाटन कार्यक्रममा संघीय सांसद देवप्रसाद तिमल्सिना, नेपाली काँगेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव, मधेसका अर्थमन्त्री जीतेन्द्रकुमार यादव, प्रदेश सांसद, गढिमाई, माधव नारायण र गरूडा नगरपालिकाका नगर प्रमुख लगायतका व्यक्तिको सहभागिता रहेको गढीमाई नगरपालिकाको प्रवक्ता तथा मेला व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

TOP