काठमाडौँ । नेपालमा कमैयामुक्ति घोषणा भएको दुई दशकभन्दा बढी भइसकेको छ । २०७० साल असार १३ गते सरकारले देशलाई कम्लरी मुक्तिको घोषणा ग¥यो तर पनि मुक्तकम्लरीले दासत्वबाट मुक्ति पाएको अनुभूति गर्न नसकेको जानकारहरू बताउँछन् ।
मुक्तकम्लरी विकास मञ्चका केन्द्रिय अध्यक्ष हीरा चौधरीकाअनुसार पूर्वकम्लरीको न्यायोचित पुनःस्थापना नहुँदा धेरैले समस्या भोग्नुपरेको छ । देशभर १२ हजार सात सय ६९ पूर्वकम्लरी छन् । हालसम्म पनि सरकारले उनीहरूको उचित पुनःस्थापना गर्न नसकेको अध्यक्ष चौधरीले बताउनुभयो ।
जसका कारण कतिपय मुग्लानमा गएर कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । कसैले बिहे गरे । कोही दैनिक ज्यालादारी गरेर पेट पालिरहेका छन् । अध्यक्ष चौधरी काजगमा मुक्त हुँदैमा व्यवहारमा मुक्ति नपाइएको बताउनुहुन्छ ।
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन २०७९ अनुसार मानव बेचबिखनलाई आधुनिक युगको दास प्रथाको रूपमा स्वीकार गरिएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन र वाक फ्रि फाउण्डेसनले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनसँगको सहकार्यमा सन् २०१७ मा गरेको अध्ययनमा विश्वमा चार करोड मानिस आधुनिक दास प्रथाको शिकार भएका छन् । जसमध्ये दुई करोड ५० लाख बाध्यकारी श्रममा र एक करोड ५० लाख बाध्यकारी विवाहमा प्रयोग भएका अध्ययनमा उल्लेख छ ।
प्रतिवेदनले विश्वका प्रत्येक एक हजार व्यक्तिमा चा दशमलव पाँच जना आधुनिक दासतामा बाँच्न बाध्य छन् । यस्ता व्यक्तिमध्ये पाँच दशमलव नौ वयस्क र चार दशमलव चार बालबालिका आधुनिक दासताको शिकार भएका छन् । कुल पीडितमध्ये ७१ प्रतिशत महिला तथा बालिका रहेको जनाइएको छ । यसले मानव बेखबिखनमा सबैभन्दा प्रभावित महिला तथा बालिका भएको पुष्टि गर्दछ ।
दासत्वको चरम सङ्घर्षमा रहेका समुदायमध्ये हलिया, हरवाचरवा पनि हुन् । गत वर्ष भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अधिवक्ता श्याम श्रेष्ठको संयोजकत्वमा मुक्तकमैया कम्लरी, हलिया र हरवाचरवाको वस्तुस्थिति अध्ययन समिति गठन गरेको थियो ।
समितिका सदस्य गणेश विकका अनुसार त्यसबेला देशका २२ जिल्लामा पुगेर प्रतिवेदन तयार पारिएको थियो । समितिले सरकारलाई प्रतिवेदन र त्यसको कार्यान्वयनका लागि निर्देशिकासमेत बुझाए पनि हालेसम्म व्यवहारमा लागू नभएको अधिकारकर्मी विक बताउनुहुन्छ ।
देशभर रहेका करिब एक लाख हरवाचवा समस्यामा छन् । सदियौँदेखि साहुको घरमा गोठालो बनेर जीविको चलाउँदै आएका यस समुदायका व्यक्ति पछिल्लो समय थप शोषण भन्ने अवस्थामा रहेका विकको भनाइ छ ।
हरेक वर्षको डिसेम्बर २ तारिखका दिन अन्तर्राष्ट्रिय दासप्रथा उन्मूलन दिवस मनाउने गरिन्छ । सन् १९४९ देखि यो दिवस संयुक्त राष्ट्रसङ्घ र सदस्य राष्ट्रलगायत संसारभरि मनाउने चलन छ ।
नेपालमा श्री ३ चन्द्र शमशेर जङ्गबहादुर राणाले ९८ वर्षअघि विसं १९८३ मा दासप्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो । रासस
प्रतिक्रिया