logo
४ माघ २०८१, शुक्रबार

एक सातामा धरहराबाट १५ लाख राजस्व सङ्कलन

एक सातामा धरहराबाट १५ लाख राजस्व सङ्कलन

काठमाडौँ । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व सङ्कलन भएको छ । यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म  १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको हो ।

कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको बताउनुभयो । बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्न सक्ने हो भने दैनिक एक हजार पाँच सयले धरहरा चढेर अवलोकन गर्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउनेछन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय रुपैया र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति  एक हजार शुल्क तोकिएको छ ।

धरहरा परिसरमा पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ । यस्तै, धरहरा परिसरमा प्रवेशका लागि भने रु ५० निर्धारण गरिएको बताइएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको छ ।

ताजा अपडेट
TOP