logo
४ माघ २०८१, शुक्रबार

परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्री बीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ विदेशमन्त्री बीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रवार द्विपक्षीय भेटवार्ता भएको छ । चीनको छन्दु सहरमा शुक्रवार अपराह्न उहाँहरूबीच वार्ता भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा राणा बिहीबार त्यसतर्फ जानुभएको हो ।

नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा उहाँहरूबीच कुराकानी भएको थियो । भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिनुभएको थियो ।

वार्ताका क्रममा चीनको ७५ औँ स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा राणाले बधाई ज्ञापन गर्नुभएको थियो ।

मन्त्री डा राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताउँदै चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिनुभयो ।

त्यसैगरी नेपाल-चीनबीचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्वाध बनेकाले यसलाई थप सहज एवं प्रभावकारी बनाउन दुवै पक्षबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

पछिल्ला समयमा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भइरहेको र यी भ्रमणहरूले हाम्रो निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सधैँ सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सो वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझदारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि आवश्यक छलफल भएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल चीनबीच लामो समयदेखि रही आएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । सो भेटपछि परराष्ट्रमन्त्री डा राणाले चिनियाँ विदेशमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताले नेपाल चीन सम्बन्धमा नयाँ उचाइ थपेको र दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुगेको बताउनुभयो ।

सो वार्तामा मन्त्री डा. राणाको नेतृत्वमा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, चीनको छन्दुस्थित नेपाली महावाणिज्यदूत र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।

त्यस अवसरमा उहाँले दुई देशबीच सरकार स्तरमा मात्र नभएर जनता जनताबीच धेरै पुरानो र सुमधुर सम्बन्ध रही आएको चर्चा गर्नुभयो । मन्त्री डा राणा शनिबार नेपाल फर्कने कार्यक्रम छ । रासस

TOP