काठमाडौँ । दुर्गम गाउँलाई उज्यालो बनाउने उद्देश्यले ‘गाउँ उज्यालो बनाउँ’ परियोजना सञ्चालन गरिएको छ ।
नेपालस्थित चिनियाँ दूतावास, चीनको छोङछिङ ह्वायान मन्दिर र छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनको संयुक्त पहलमा परियोजना सुरु गरिएको हो ।
दुर्गम गाउँलाई स्थिर प्रकाश प्रदान गर्दै जीवनस्तर सुधार गर्ने उद्देश्यले परियोजना सञ्चालनमा रहेको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका पाँच सय घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्यबत्ती प्रदान गर्ने जनाएको छ । परियोजनाको पहिलो चरणमा बागमती प्रदेशको काभ्रेपालाञ्चोकको रोशी गाउँपालिकाका दुर्गम मिन्दुपा गाउँ र सिम गाउँका ८० घरमा सोलार बत्ती जडान गरिएको छ ।
यसबाट गाउँलेको रात्रिकालीन जीवनलाई सहज बनाउनाका साथै विद्यार्थीलाई अध्ययनका लागि अनुकूल वातावरण सिर्जना भएको परियोजनाले जनाएको छ । सञ्चालित कार्यक्रमले गाउँलेको जीवनस्तर सुधार तथा शिक्षा र दिगो विकासलाई प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।
पत्रकार सम्मेलनमा रोशी गाउँपालिकाका प्रमुख दिनेश लामाले परियोजनाले स्थानीय बासिन्दाको जीवनस्तर सुधारमा ठूलो योगदान दिने विश्वास व्यक्त गर्नुभयो । नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर छि शानले परियोजनाले ग्रामीण जीवनलाई उज्यालो प्रदान गरेर सहज गर्नाका साथै दुई देशबीच जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृती फाउण्डेसनका महासचिव यिन लियाङले सौर्य बत्तीको प्रयोगले हरित ऊर्जा प्रविधिको प्रवर्द्धन, पारिस्थितिक सभ्यता निर्माण र दिगो विकासलाई समर्थन गर्न मद्दत पुग्ने बताउनुभयो ।
भविष्यमा, ह्वायान मन्दिर र फाउन्डेशनले बौद्ध धर्मको परोपकारी दर्शनलाई अनुसरण गर्दै सभ्यताको आदानप्रदान र समझदारीलाई बढावा दिन र सङ्कटमा परेकालाई सहयोग गर्न निरन्तर काम गर्ने जनाइएको छ ।
प्रतिक्रिया