

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’ को एसिया प्रशान्त क्षेत्रीयस्तरको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको बुधवार समापन गर्दै मन्त्री खड्काले जलवायु परिवर्तनबाट निम्तिएका विपद् तथा वातावरणीय असन्तुलनलाई न्यूनीकरण गर्न सबैको साथ र सहयोगको खाँचो रहेको बताउनुभयो ।
मन्त्री खड्काले विश्व समुदाय र सम्बन्धित संस्थाहरूसँग जलवायु परिवर्तनका चुनौतीहरूलाई न्यूनीकरण गर्नका लागि दिगो समाधानका उपाय र प्रविधि हस्तान्तरणलाई अघि बढाउन सहयोगका लागि आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु अनुकूलनका लागि दिगो विकासका नीति आवश्यक रहेको बताउनुभयो । नेपालमा जलवायु परिवर्तनका असरहरू गम्भीररूपमा देखा परेको औँल्याउँदै हिमाली क्षेत्रका हिउँ र हिमनदी द्रुत गतिमा पग्लिरहेकोले जलप्रवाहलाई नै अस्थिर बनाएको उहाँलेउल्लेख गर्नुभयो।
तीनदिने सम्मेलनमा २३ देशका विज्ञहरूको सहभागितामा पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधिलगायत विशिष्टीकृत विषयमा बहस र छलफल भएको थियो ।
प्रतिक्रिया