अयोध्या । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्ता पत्र हस्तान्तरण गर्नुभएको छ ।
विश्व हिन्दू परिषद् नेपाल धनुषाद्वारा सोमवार अयोध्याधाममा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई यही मङ्सिर २१ गते जनकपुरधाममा हुने रामजानकी विवाहपञ्चमीकोनिमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच परापूर्वकालदेखि आर्थिक सामाजिक, धार्मिक र रोटी-बेटीकोसम्बन्ध रहेकाले आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री सिंहलेविवाहपञ्चमी समारोह हर्षोल्लासका साथ मनाउन नेपाल र भारतका नागरिकले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण र सराहनीय रहेको बताउनुभयो ।
ट्रष्टका महासचिव रायले जनकपुरधाम र अयोध्याको सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल र भारत सरकारका साथै नागरिक तहमा रहेको सम्बन्ध महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विवाहपञ्चमीको महत्व बढाउन दुवै देशका सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
सोमवार भएको तिलकोत्सव समारोहका लागि मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेस प्रदेशका ५ जना मन्त्रीहरु,प्रदेशसभा सदस्य, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लगायत ५१ जनाको टोली अयोध्या पुगेको छ ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री सहित सो टोली अयोध्याको कार्यक्रममा सहभागीभएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ । रासस
प्रतिक्रिया