काठमाडौँ । सोह्रबुँदे घोषणापत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत विज्ञ, पेसागत सङ्गठन तथा युवा अभियन्ताहरूको दुईदिने राष्ट्रिय युवा सम्मेलन आइतवार सम्पन्न भएको छ । समापन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दिगो सडक र सुरक्षित यातायातको क्षेत्रमा सरकारले गर्नुपर्ने धेरै नीतिगत कार्यहरू संचालन गर्ने प्रक्रियामा अगाडि बढेको बताउनुभयो । सम्मेलनद्वारा पारित काठमाडौँ धोषणापत्रलाई यथासक्य छिटो नीति र कार्यक्रमसँग जोड्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
युथ फर रोड सेफ्टी इन नेपाल अभियानको व्यवस्थापनमा काठमाडौँमा सम्पन्न भएको सम्मेलनले दिगो पूर्वाधार निर्माण, सुरक्षा उपकरणमा अनुदान, आवश्यक कानुन निर्माण र कार्यान्वयन, नीति निर्माणमा युवा सहभागिता, पोस्ट क्र्यास रेस्पोन्स, दुर्घटना पीडितलाई सम्बोधन र दिगो तथा वातावरणमैत्री यातायात लगायतका मागसहित घोषणापत्र जारी गरेको छ ।
सम्मेलनले अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट, दक्ष र पारदर्शी यातायात प्रशासन, अन्तरसरकारी समन्वय र पेसागत समुदायको संलग्नता, स्पिड म्यानेजमेन्ट तथा सुरक्षित विद्यालय क्षेत्र, अटोल्यान्ड र गाडीको गुणस्तर, प्रोएक्टिभ राजनीतिक प्रतिबद्धता र अधिकारसम्पन्न सडक सुरक्षा परिषद् गठनजस्ता माग पनि गरेको छ ।
देशभरिबाट सहभागी भएका करिब एक सयजना युवा, अतिथि तथा वक्तालाई युथ फर रोड सेफ्टी इन नेपालका संयोजक ई. किरण धितालले स्वागत गर्दै सम्मेलनको निष्कर्ष आगामी फेब्रुअरीमा मोरोक्कोमा हुने गोबल युथ एसेम्ब्लीमा प्रस्तुत गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया