logo
१३ चैत्र २०८१, बुधबार

डेरामा बस्ने ३ हजार १९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण

डेरामा बस्ने ३ हजार १९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दुर्गम र अतिदुर्गम क्षेत्रबाट काठमाडौँ आएर बसोबास गरिहेका ३ हजार १ सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गरेको छ ।
केन्द्रले नेपालका दुर्गम र अति दुर्गम क्षेत्रबाट काठमाडौँमा आई डेरा गरी बस्ने स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गरेको हो ।

विद्युतीय चुल्हो वितरण कार्यक्रमको आइतवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुभारम्भ गर्नुभयो । कार्यक्रममा मन्त्री खड्काले यस अभियानले नवीकरणीय ऊर्जा प्रवद्र्धन र विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।
विद्युतीय चुल्हो वितरणले दूरदराजबाट काठमाडौँमा अध्ययन गर्न आउने विद्यार्थीलाई सहुलियत प्रदान गर्नाका साथै खनिज इन्धनको प्रयोग न्यूनीकरण गरी विद्युत्को आन्तरिक खपत वृद्धि गर्नमा सघाउ पुग्ने उहाँले उल्लेख गर्नुभयो । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन उहाँले केन्द्रलाई निर्देशन दिनुभयो ।

ऊर्जामन्त्री खड्काले नेपालले ऊर्जा क्षेत्रमा निरन्तर रुपमा महत्वपूर्ण फड्को मारिरहेको र हाल अन्तर्राष्ट्रिय बजारमा समेत विद्युत् निर्यात गर्न सफल भएको भन्नुहुँदै आगामी १० वर्षभित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव सुरेश आचार्यले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामा केन्द्रले हासिल गरेका उपलब्धिको प्रशंसा गर्नुहुँदै ऊर्जा सम्मिश्रण र ऊर्जा खपत वृद्धिका लागि विद्युतीय चुलोको महत्वपूर्ण योगदान रहने बताउनुभयो ।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले विद्युतीय चुल्हो प्रवर्द्धनको माध्यमबाट केन्द्रले नेपाल सरकारले लिएका नवीकरणीय ऊर्जा तथा जलवायु परिवर्तन न्यूनीकरण एवं अनुकूलनसम्बन्धी दीर्घकालीन लक्ष्य हासिल गर्न योगदान पु¥याइरहेको बताउनुभयो ।

कार्यकारी निर्देशक ढकालले केन्द्रले विद्यार्थीहरुलाई विद्युतीय चुल्हो वितरणका माध्यमबाट विद्युतीय चुलो एवम् खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको प्रयोगलाई देशव्यापी रूपमा विस्तार गर्न लागेको बताउनुभयो ।
सरकारले दोस्रो राष्ट्रिय निर्धारित योगदानमा ऊर्जा क्षेत्रबाट कार्बन उत्सर्जन न्यूनीकरण गर्न सन् २०३० सम्म २५ प्रतिशत घरधुरीमा विद्युतीय चुल्हो प्रवद्र्धन गर्ने लक्ष्य लिएकाले सो लक्ष्य हासिल गर्नमा विद्युतीय चुल्होलाई प्रभावकारी रुपमा प्रवद्र्धन गर्न केन्द्र निरन्तर क्रियाशील रहेको उहाँले उल्लेख गर्नुभयो ।

केन्द्रले हालसम्म विभिन्न नवीकरणीय ऊर्जा प्रविधिको अतिरिक्त ६० हजारभन्दा बढी सङ्ख्यामा विद्युतीय चुलो प्रवर्द्धन गरिसकेको छ । आइतवारदेखि सुरु भएको अभियान आगामी १० दिनसम्म चल्ने केन्द्रले जनाएको छ । रासस

ताजा अपडेट
TOP