

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले नेकाकै सांसद राजेन्द्र बजगाईंले आफूविरुद्ध गलत प्रचार गरेको आरोप लगाउँदै पार्टीको केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिनुभएको छ । मन्त्री पाण्डेले अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रवार उजुरी दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृङ्खलाबद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा गलत प्रचार गर्दै आएको मन्त्री पाण्डेले दिनुभएको उजुरीमा उल्लेख छ ।
मन्त्री पाण्डेले आफ्नो चरित्रमा आँच पुगेको भन्दै यसबारे आवश्यक अनुसन्धान गरी कारबाही गर्न उजुरी दिनुभएको हो ।
सांसद बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै गत मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो ।
प्रतिक्रिया