काठमाडौँ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८१’ अभियानका क्रममा दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार कार्य गरिएको छ ।
उद्धार हुनेहरुमा एक सय ७९ जना पुरुष र ५७ महिलामध्ये पाँच बालिका र चार बालक रहेको मानवसेवा आश्रमद्वारा शुक्रवार जारी विज्ञप्तिमा जनाइएको छ ।
उद्धार कार्य गत असोज २८ गते झापाको मेची पुलबाट सुरु गरिएको थियो । यस राष्ट्रिय उद्धार टोलीले देशका सातैवटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा सहभागी भएका थिए ।
उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत ४७ जनाको सहभागिता रहेको थियो ।
हालै उद्धार गरिएका दुई सय ३५ जना सहयोगापेक्षी सडक मानवहरूलाई आश्रमका १५ वटा सेवाकेन्द्रमा संरक्षण गरी खाना नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्था गरिएको आश्रमले जनाएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नाराका साथ तेस्रो ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८१’ सफलतापूर्वक सम्पन्न भएको र यसले मानवताको प्रवद्र्धनको अभियानलाई संस्थागत गर्न सहयोग पुग्ने फाउण्डेशनकी अध्यक्ष डोल्मा बताउनुहन्छ ।
सरकारले आव २०८१-८२ को नीति तथा कार्यक्रममा नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्प गरिनुले यस संस्थाको लक्ष्य २०८२ घोषणाको लागि निकै ठूलो आधार निर्माण भएको आश्रमका संस्थापक अध्यक्ष अधिकारी बताउनुहुन्छ ।
मानवसेवा आश्रमले सातवटै प्रदेशका १९ जिल्लाका २५ सेवा केन्द्रहरुमार्फत बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर र अनाथहरुको उद्दार गरी उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । रासस
प्रतिक्रिया