logo
४ माघ २०८१, शुक्रबार

दलहरूमा पुरानै केन्द्रीकृत सोच हाबी : अध्यक्ष राउत

दलहरूमा पुरानै केन्द्रीकृत सोच हाबी : अध्यक्ष  राउत

झापा । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्ने बताउनुभएको छ । उहाँले प्रमुख दलहरूमा अहिले पनि पुरानै र केन्द्रीकृत सोच हाबी रहेको आरोप लगाउनुभयो ।

यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा झापाको कनकाई नगरपालिका-६ मा जनमत पार्टीका तर्फबाट उम्मेदवार घोषणा गर्न शुक्रवार कनकाईको चम्पापुरमा आयोजित सभामा डा राउतले मुलुकमा पटकपटक क्रान्तिमार्फत सत्ता फेरिए पनि मानसिकता फेरिन नसकेको बताउनुभयो ।  उत्पीडित समुदाय र आमनागरिकले अनुभूत गर्ने गरी काम गर्न जरूरी रहेकोमा उहाँले जोड दिनुभयो ।

सो पार्टीका तर्फबाट कनकाई नगरपालिका-६ मा शुकलाल राजवंशीलाई उम्मेदवार घोषणा गरिएको छ । झापामा जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलोपल्ट भाग लिएको हो ।

निर्वाचन कार्यालय झापाका अनुसार कनकाई-६ मा दुई हजार ५८ मतदाता रहेका छन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

TOP