logo
४ माघ २०८१, शुक्रबार

किराँत धार्मिक गुरु फाल्गुनन्दको मार्गनिर्देशनको चर्चा

किराँत धार्मिक गुरु फाल्गुनन्दको मार्गनिर्देशनको चर्चा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाउनुभएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले सामाजिक रूढीवादी परम्पराको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देशन अनुशरणयोग्य रहेको बताउनुभएको छ ।

सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्दले धार्मिक गुरुमात्र नभई सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई कार्यसमेत गर्नुभएको उहाँले स्मरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।

यस्तै,  उपराष्ट्रपति रामसहायप्रसाद यादवले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दले सांस्कृतिक पहिचान र समाज सुधारका क्षेत्रमा दिनुभएको योगादन सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय रहेको बताउनुभयाे ।

फाल्गुनन्द जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उहाँले फाल्गुनन्दले तयार पार्नुभएको ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

फाल्गुनन्दको उच्च आदर्श, सद्विचार, पवित्र उद्देश्य र अवलम्बन गर्नुभएको सत्मार्ग सिङ्गो नेपाली समाजको मार्गदर्शन गर्ने महत्त्वपूर्ण पक्ष भएको उपराष्ट्रपति यादवको भनाइ छ ।

उपराष्ट्रपति यादवले राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीले सम्पूर्ण नेपालीलाई देश र समाजमा सदाचार, सद्भाव, सहिष्णुता र एकता कायम गर्दै मुलुकको विकासको महाअभियानमा जुट्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि निर्वाह गरेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ ।

ताजा अपडेट
TOP