काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख सहरी चुनौती सम्बोधन गर्न ‘यूनाइटेड नेसन्स ह्युमन सेटलमेन्ट प्रोग्राम’ (यूएन–ह्याबिटेट) सँग सहकार्य गरिने बताउनुभएको छ ।
इजिप्टको कायरोमा जारी ‘वर्ल्ड अर्बान फोरम’को कार्यक्रममा शुक्रवार यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधि काजुको इसिगाकी र नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिङ्गर ह्याम्डीसँग मन्त्री सिंहले द्विपक्षीय बैठक गर्नुभएको थियो ।
बैठकमा उहाँले नेपालले सामना गरिरहेको प्रमुख सहरी चुनौतीलाई सम्बोधन गर्न सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा इसिगाकीले तथ्य र तथ्याङ्कमा आधारित योजनामा यूएन ह्याबिटेटको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री सिंहको सचिवालयका अनुसार दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्न र सहरी योजनालाई मुख्य प्रवाहमा ल्याउने जटिल सहरी चुनौतीको सामना गर्न यूएन ह्याबिटेटको भूमिकामासमेत आवासीय प्रतिनिधि ह्याम्डीले जोड दिनुभयो ।
विश्व फोरममा नेपालका तर्फबाट उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रमा सम्बोधन गर्नुभएको थियो ।उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गर्नुभएको थियो ।
प्रतिक्रिया