काठमान्डाैँ । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेको पोखराको बयान सकियो तर प्रहरी हिरासतको बसाइ अझै सकिएको छैन ।
पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति रविसँग सरकारी वकिलको कार्यालयमा १३ दिनको अवधीमा विभिन्न पटक बयान लिएको प्रहरीले जनाएको छ ।
सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका रविमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
कास्की जिल्ला अदालतको अनुमतिबाट कार्तिक २ गते शुक्रबार काठमाडौँमा पक्राउ परेका रविलाई शनिबार ३ गते पोखरा लगिएको हो ।
शुरुमा ६ दिन र त्यसपछि गत कार्तिक ८ गते कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप भएपछि रास्वपा सभापति रविले पक्राउ परेको दिन समेत गरी १३ दिन प्रहरी हिरासत र बयानमा विताउनु भएको छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका सभापति रविलाई हिरासतमा राख्ने अदालतको अनुमति बुधबार सकिएको छ । तर कार्तिक १५ गते बिहीबार देखि तिहारको बिदा भएकाले अब उहाँलाई तिहार विदापछि कार्तिक २० गते अदालतमा पेश गरिने तयारी रहेको कास्की प्रहरीको भनाइ छ ।
यसैबीच बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रास्वपा सभापति रविविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरी सकेको छ ।
अब सभापति रविलाई म्याद थप गरेर तिहारपछि रुपन्देही लगेर थप अनुसन्धान गर्ने क्रममा बयान लिइने तयारी गरिएको कानुन व्यवसायीहरुको भनाइ छ ।
प्रतिक्रिया