logo
२ चैत्र २०८१, शनिबार

जटिल बन्दै लागु औषध दुर्व्यसनी

जटिल बन्दै लागु औषध दुर्व्यसनी

कैलाली । पढ्न जाने वा घर बाहिरको कामगर्न जाने बहानामा कुलतमा फसेका साथीभाईको सङ्गतमा लागेर धेरै युवा एवं वयस्क व्यक्ति लागु औषधको कुलतमा फसिरहेका घटना बढ्दै गएका छन् ।कतिपय युवती पनि यस्तो कुलतमा फस्ने गरेको पाइएको छ ।

दिनैपिच्छे कैलालीसहितका जिल्लामा प्रहरी टोलीले लागु औषधसहित विभिन्न व्यक्ति धमाधम पक्राउ पर्नथालेको पनि छ ।

लागु औषधको सेवन र ओसारपसारमा फस्नेमध्ये अधिकांश युवा फेलापर्ने गरेको प्रहरीको तथ्याङ्क छ । यसको सेवन तथा ओसारपसारका घटना डरलाग्दो रूपमा फैलिँदै गएको देखिएपनि यो समस्याका बारेमा समाजमा खास चासो र चिन्ता व्यक्त गरिएको देखिदैन । यसका कारण लागु औषधको समस्या न्यूनीकरण हुनुको साटो बढ्दै गएको घटनाक्रमले देखाएको छ ।

युवाहरू लागु औषध दुव्र्यशनको सिकार भइरहँदा पनि सम्बन्धित अभिभावक भने बेखवरजस्तै देखिँदा यो समस्या रोकथाम जटिल बन्दै गएको प्रहरीको अनुभव छ ।

कैलाली जिल्लामा एकैदिन १२ जनासम्म लागु औषधसहित पक्राउ परेको तथ्याङ्क छ ।

पक्राउ पर्नेहरूबाट खैरो हिरोइन, नाइट्राभेट, नाइट्रजपाम, चरेश, स्पास्मो, ब्राउन सुगर, कोडेक्स, ट्रमाडोलजस्ता लागु औषध बरामद हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्का अर्काको देखिसेकी, घरपरिवारको बिग्रेको माहोल, छोराछोरीप्रति अभिभावकले गर्नुपर्ने निगरानीमा कमीकमजोरी, सामाजिक सञ्जालको दुरूपयोग, गलत साथीसङ्गत, लागु औषध सेवनको उत्सुक्ता जग्नुजस्ता कारणले धेरै युवाहरू कुलतमा फस्दै गएको बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा थुनुवामा पर्नेमध्ये ७० प्रतिशत लागु औषधको मुद्दाका हुने गरेको जनाइएको छ ।

प्रहरीले लागु औषधको सेवन, ओसारपसार रोकथामका लागि यो भित्रिन सक्ने सम्भावित ठाउँको निगरानी गरेर यसको जालो तोड्ने प्रयासमा गरिरहेको छ ।

नेपाल–भारतबीचको खुला सीमानाको फाइदा उठाउँदै यसको ओसारपसार गर्न सहज भइरहेको बताइन्छ । सीमापारी भारतीय बजारमा त्यहांँका व्यापारीले निर्वाध रूपमा लागु औषध बेचबिखन गर्ने गरेको कारण यसको उपलब्धता सहज भइरहेको बताइन्छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले लागु औषधका मुद्दा दर्ता हुने सङ्ख्या बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष२०७८÷७९मा लागु औषधका दुईसय एक मुद्दा दर्ता भएकोमा आव २०७९/८०सम्म आइपुग्दा यो सङ्ख्या बढेर तीनसय ४७ पुगेका थिए । यस्तै आव२०८०/८१मा तीनसय १५ मुद्दा दर्ता भएकोमा चालु वर्ष२०८१/८२को माघसम्म दुई सय ६९ मुद्दा पुगेका छन् ।

चालु वर्षको माघसम्म दर्ता भएका लागु औषधका मुद्दामा तीनसय ६५ पुरूष र२२ महिला पक्राउ परेको जनाइएको छ । गत आर्थिक वर्ष २०८/०८१ मा चारसय ४७ जना पक्राउ परेका थिए । रासस

TOP