

धनगढी । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दैआएको थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारीले छपक्कै छोपेको छ ।
नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको तयारीमा थारू समुदाय व्यस्त छ ।माघी पर्व नजिकिएसँगै कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा चहलपहल बढेको छ ।
पर्वलाई भव्य रूपमा मनाउन घरपरिवारका सदस्य आ-आफ्नो कामको जिम्मेवारी लिएर खटिएका छन् । पुरुषहरू मासुको जोहो गर्न गाउँगाउँ धाइरहेका छन् भने महिलालाई दुना, टपरी बनाउन भ्याइनभ्याई छ ।
पर्वको तयारीका लागि विशेषगरी अन्डी धानको चामल, पिठोलगायत खाद्यान्नको जोहो गर्ने, दुनाटपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा आँगन सरसफाइलगायत कार्य धमाधम भइरहेको थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले जानकारी दिनुभयो ।
यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँ लुगा किन्न गाउँबाट सहरबजार जान थालेका छन् । रोजगारीका लागि विदेशिएकाहरू पर्व मनाउन घर फर्कन थालेका संयोजक चौधरीले बताउनुभयो ।
माघीमा पाहुना धेरै जम्मा हुने भएकाले ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्न महिलालाई भ्याइनभ्याई छ । माघीको तयारीका लागि एक महिनाअघिदेखि नै अण्डीको रोटी, ढिक्रीका लागि पिठो जोहो गर्ने, सिद्रा जोहो गर्ने, जिता (बङ्गुर) खोज्ने लगायत कार्य सुरु भएको चौधरीको भनाइ छ । रासस
प्रतिक्रिया