

धनुषा । परराष्ट्र मामिलाका जानकारहरुले देशको परराष्ट्र सम्बन्ध सन्तुलित हुनुपर्नेमा जोड दिएका छन् ।
जनकपुर साहित्य महोत्सवमा ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ शीर्षकमा भएको छलफलका वक्ताहरूले नेपालको परराष्ट्र नीति, सीमाञ्चलको अवस्था र समसामयिक चुनौतीहरूबारे आफ्ना धारणा राखेका थिए ।
पत्रकार सुधिर शर्माले नेपाल-भारत र नेपाल-चीन सम्बन्धका ऐतिहासिक घटनालाई स्मरण गर्दै नेपालले परराष्ट्र नीतिमा गर्नुपर्ने परिमार्जनबारे सुझाव दिनुभयो ।
उहाँले विगतका अनुभवबाट सिकेर भविष्यका लागि रणनीति बनाउनुपर्ने धारणा राख्नुभयो ।
परराष्ट्रविद् इन्द्र अधिकारीले नेपालको परराष्ट्र नीतिमा सन्तुलनको आवश्यकता औँल्याउनुभयो ।
नेपालले छिमेकी राष्ट्रहरू भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने बताउँदै उहाँले नेपालले असंलग्न परराष्ट्र नीतिलाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय सम्बन्धमा आफ्नो स्वतन्त्र पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार तथा विश्लेषक तुलानारायण साहले सीमाञ्चलको समृद्धिका लागि प्रभावकारी परराष्ट्र नीति आवश्यक रहेकोे बताउनुभयो ।
सीमावर्ती क्षेत्रका समस्याहरू, जस्तै अवैध व्यापार, मानव तस्करी र सीमाङ्कन विवादबारे चर्चा गर्दै यी समस्याहरू समाधान गर्न नेपालले छिमेकी राष्ट्रहरूसँग सहकार्य गर्नुपर्ने उहाँको सुझाव छ ।
प्रतिक्रिया