

जनकपुर । मधेस प्रदेशसभाको आइतबार बैठकले बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव बहुमतबाट पारित गरेको छ ।
प्रदेशसभाको चौथो अधिवेशनको आइतवार बसेको साताँ बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१-८२ को बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव पारित गरेको हो ।
गत पुस २९ गते सङ्कल्प प्रस्ताव दर्ता भएको थियो । सभामुख रामचन्द्र मण्डलबाट सैद्धान्तिक सहमतिपछि आजै प्रदेशसभामा सङ्कल्प प्रस्ताव पेस गरिएको थियो ।
सभामुख मण्डलले सभामा उपस्थित ५९ सदस्यमध्ये ४३ जनाले प्रस्तावको पक्षमा र १६ जनाले विपक्षमा मतदान गरेकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
सत्ता गठबन्धन दल लोसपाका प्रदेश सांसद रुपाकुमारी यादवले सङ्कल्प प्रस्ताव पेस गर्नुभएको थियो ।प्रस्तावकको समर्थकमा नेकपा (एमाले) का तर्फबाट पल्टीदेवी महरा, कांग्रेसबाट अञ्जना पण्डित, जनमत पार्टीबाट हसिना खातुन, नेकपा (एकीकृत समाजवादी) बाट रत्नेश्वर गोइत र राप्रपाबाट कञ्चन विच्छा रहनुभएको थियो ।समर्थकमध्ये एकीकृत समाजवादी र राप्रपा प्रतिपक्षमा छन् ।
बजेट वक्तव्यको एक सय ४७ नम्बर बुँदा उपभोक्ता समितिबाट काम गराउन बाधक रहेको भन्दै सो बाधा फुकाउन सङ्कल्प प्रस्ताव पेस गरिएको थियो ।
प्रस्तावमा ५० लाखरुपैयाँसम्मका योजना उपभोक्ता समितिबाट र त्यसभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया