बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध र लुम्बिनी सर्किटको विकास गरिने बताउनुभएको छ ।
रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान महोत्सवको शनिवार उद्घाटन गर्दै उहाँले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किट रप्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि सारेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले बौद्ध सर्किटको गुरुयोजना बनाएर तिलौराकोटदेखि नवलपरासीको रामग्रामसम्मका सम्पदालाई जोड्ने गरी पर्यटन पूर्वाधार निर्माण गर्ने बताउनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेगरी पर्यटकीयस्थललाई नवीनतम रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
उद्यानमा सिमेन्टबाट बन्ने संरचनालाई निरुत्साहित गर्दै स्थानीय काठ तथा सामाग्रीको प्रयोग गरेर कलात्मक आकृति तथा पर्यटन पूर्वाधार निर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माणदेखि विभिन्न कार्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा लगिएको बताउनुभयो ।
बर्दियामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ‘घुम्न जाउँ बर्दिया’ अभियान सञ्चालन गरेको बताउनुभयाे ।
बुद्ध सामुदायिक वन उपभोक्ता समूहले वन, वातावरण तथा जैविक विविधता संरक्षणका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठबाट विभिन्न आकृति निर्माण गरेर प्रदर्शनीमा राखेको छ ।
४९ हजार सात सय ५२ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन विसं २०५६ मा स्थापना भएको थियो । रासस
प्रतिक्रिया