

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन नहुने बताउनुभएको छ ।
पेशागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा बिहीबार विराटनगरमा आयोजित ‘संविधान संशोधन र चुनौती’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नेता डा कोइरालाले मुख्यरुपमा संविधान संशोधन, आर्थिक विकास र मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने उद्देश्य पूरा गर्ने समयसम्म सरकार रहने प्रष्ट पार्नुभयो ।
नेता डा कोइरालाले प्रतिपक्षी दलसँग वार्ता एवं छलफल गरी सहमतिका आधामा संविधान संशोधन गरेमा सबैको अपनत्व कायम हुने सुझाव दिनुभयो ।
संविधानविद् वरिष्ठ अधिवक्ता डा भीमार्जुन आचार्यले भाषाको शुद्धाशुद्धि, अवधारणको त्रुटि र संविधानको अन्तरवस्तु संशोधन गर्नु आवश्यक भएको सुझाव दिनुभयो । उहाँले राष्ट्रपति पद राजनीतिक नभएको भन्दै न्यायालय स्वतन्त्र भएमा लोकतन्त्र वलियो हुने धारणा राख्नुभयो ।
प्रतिक्रिया