

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति पैसाका लागि नभई देश र जनताका लागि हुनुपर्ने बताउनुभएको छ ।
नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा नोना कोइरालाको १८औँ स्मृति दिवसको अवसरमा साेमबार आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता र पैसाको पछि हिँडिरहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले राजनीतिलाई व्यवसायीकरण गरिँदैछ । राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो ।”
उहाँले सरकारले संसद्लाई पर सारेर अध्यादेश ल्याएकोमा आपत्ति जनाउँदै संसद् बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनताले आशंका गरेको उल्लेख गर्नुभयो
कोइराला परिवारलाई एकढिक्का बनाएर राजनीतिमा अगाडि बढाउन नोनाको ठूलो योगदान रहेको चर्चा उहाँले गर्नुभयो ।
प्रतिष्ठानकी अध्यक्ष पुनम कोइरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार किशोर नेपाल पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।
प्रतिक्रिया