logo
४ माघ २०८१, शुक्रबार

अब जुम्ला साक्षर जिल्ला बनेको घोषणा

अब जुम्ला साक्षर जिल्ला बनेको घोषणा

जुम्ला । जुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर घोषणा मापदण्डका सबै सूचक पुरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो ।

बुधवार सदरमुकाममा आयोजित एक समारोहबीच कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आर्चायले जुम्लालाई साक्षर घोषणा गर्नुभयो ।

सामाजिक विकास कार्यालय, पेश नेपाल, किर्डाक नेपाल, क्याड नेपाल, सेभ द चिल्ड्रेनको सहयोग र जिल्ला समन्वय समितिको आयोजनामा साक्षर जिल्ला घोषणा गरिएको हो ।

राष्ट्रिय साक्षरता मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका जनसङ्ख्यामध्ये ९५ प्रतिशतभन्दा माथि साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान छ ।

सोही प्रावधान बमोजिम जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका ७२ हजार तीन सय १९ जनसङ्ख्यामध्ये ९६ दशमलव ०७ प्रतिशत अर्थात ६९ हजार चार सय ७७ जनाभन्दा बढी नागरिक साक्षर रहेको सुनिश्चित भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जानकारी दिनुभयो ।

यसअघि जिल्लाका आठै स्थानीय तह साक्षर घोषणा गरिएको थियो । जसमा कनकासुन्दरी गाउँपालिकाका ९७ प्रतिशत, हिमा गाउँपालिका ९६ प्रतिशत, सिंजा गाउँपालिकाका ९६ दशमलव ५ प्रतिशत नागरिक साक्षर भएका छन् ।

त्यस्तै, चन्दननाथ नगरपालिकाका ९८ दशमलव ९१ प्रतिशत, पातारासी गाउँपालिकाका ९५ दशमलव २५ प्रतिशत, तातोपानी गाउँपालिकाका ९५ दशमलव ७७ प्रतिशत, गुठीचौर गाउँपालिकाका ९५ दशमलव ७३ प्रतिशत र तिला गाउँपालिकाका ९५ दशमलव ४ प्रतिशत नागरिक साक्षर भएको स्थानीय तहका शिक्षा शाखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

TOP