logo
२ चैत्र २०८१, शनिबार

प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेकाे अध्यक्ष केसीकाे जिकिर

प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेकाे अध्यक्ष केसीकाे जिकिर

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्रको विकल्पमा अरु कुनै उत्तम व्यवस्था नरहेको बताउनुभएको छ ।

बागलुङमा बुधबार ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेको जिकिर गर्नुभयो ।

सत्ता र शक्तिमा बस्नेहरुले जनताको भवनाविपरीत काम गर्न नहुने उहाँको सुझाव थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका केसीले प्रजातन्त्रलाई सिध्याएर देशमा निरङ्कुश शासन चलाउने शक्ति तयार भइरहेको आरोप लगाउनुभयो ।

जनताको बलिदानीबाट स्थापना भएको प्रजातन्त्र कुनै पनि शक्तिले ढलाउन नसक्ने उहाँले दाबी गर्नुभयो ।

सत्तामा नेता आउने जाने प्रक्रिया चलिरहने र जनता सधँै स्थायी हुने अध्यक्ष केसीको भनाइ छ । नेपाली जनतालाई प्रजातन्त्र अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

राजनीतिक दलका नेता र सांसदले भनेको जस्तो विकास निर्माण अघि बढेको भए लाखौँ युवा जनशक्ति विदेश जानु नपर्ने अध्यक्ष केसीले बताउनुभयो ।

जनताको चाहना र आवश्यकताअनुसार नेताले काम नगर्दा गाउँघर रित्तिएर उराठ लाग्दा भएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सरकारले युवा शक्तिलाई आफ्नै गाउँ ठाउँमा बस्ने वातावरण तयार गर्नुपर्नेमा अध्यक्ष केसीले जोड दिनुभयो । रासस

TOP