

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि सामूहिक प्रयास आवश्यक पर्ने बताउनु भएको छ ।
कान्तिपुर मिडिया ग्रुपले बुधवार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले मात्र चाहेर विमानस्थलबाट नियमित उडान हुन नसक्ने भएकाले सङ्घ र प्रदेश सरकारको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पोखरा र समग्र गण्डकी प्रदेश पर्यटकीय सम्भावनाको क्षेत्र रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछि पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन हुँदै गएको बताउनुभयो ।
गण्डकीकापर्यटकीय क्षेत्र पहिचान गर्दै सम्भावना अभिवृद्धि गर्ने कार्यमा प्रदेश सरकार निरन्तर लागिरहेको उहाँले उल्लेख गर्नुभयो ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाले गण्डकी प्रदेशको सम्भावना, समस्या र समाधानका उपायहरूको खोजी गर्ने उद्देश्यले ‘गन्तव्य गण्डकी’ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा राजनीति र पर्यटन नीति, साहसिक यात्रा, स्वप्निल गन्तव्य, शिक्षा, स्वास्थ्य र रोजगार तथा सङ्घीयताका विषयमा विषय विज्ञहरूका बीचमा बहसमूलक छलफल हुने आयोजकले जनाएको छ ।रासस
प्रतिक्रिया