

पोखरा । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धित जिल्ला समन्वय समितिको प्रमुखलाई नियुक्त गरेको छ ।
समितिको संरचनागत सुधारका लागि प्रदेश सरकारले गत वर्ष जारी गरेको अस्पताल व्यवस्थापन समिति गठन आदेश-२०८० अनुसार नयाँ समितिहरू गठन भएका हुन् ।
स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मुस्ताङ, तनहुँ र बागलुङमा जिसस प्रमुखको अध्यक्षतामा समिति गठन भइसकेको बताउनुभयाे । अब राजनीतिक आधारमा हुने नियुक्तिको प्रक्रिया तोडिएको उहाँको भनाइ छ ।
पुरानो समितिको कार्यकाल सकिनासाथ प्रदेश सरकार मातहतका अन्य अस्पतालहरूको व्यवस्थापन समिति पनि नयाँ प्रावधान अनुसार गठन हुने उहाँले बताउनुभयो ।
नवगठित समितिमा जिसस प्रमुखको अध्यक्षतामा सात सदस्य रहने व्यवस्था छ । समितिको सदस्य सचिवमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रहने व्यवस्था रहेको छ ।
समितिको सदस्यमा अस्पताल रहेको सम्बन्धित स्थानीय तहको प्रमुख-अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष तथा लेखा नियन्त्रक, उद्योग वाणिज्य सङ्घको अध्यक्ष र सामाजिक क्षेत्रमा क्रियाशील स्नातक उत्तीर्ण एक महिला रहने व्यवस्था छ ।
अस्पताल व्यवस्थापन समितिलाई चुस्त र प्रभावकारी बनाउन संरचनागत सुधार थालिएको मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताउनुभयो ।अस्पतालका मेडिकल सुपरिटेन्डन्ट लगायत सरोकार भएका पक्षको सुझावका आधारमा प्रदेश सरकारले नयाँ गठन आदेश जारी गरेको उहाँको भनाइ छ ।
प्रतिक्रिया