

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका-६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आउनुभएको छ ।
बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि विस्थापित उहाँ बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य हुनुहुन्छ ।
प्रकाशसँगै त्यहाँका सात घर परिवार लुइचे पाखामा त्रिपालको सहारामा बस्दै आएका छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा गएको बाढीले भएको घरखेत सबै बगाएपछि उहाँहरू विचल्लीमा परेका हुन् ।
भएको सबै सम्पत्ति बगाएपछि सिङतान परिवार गाउँपालिका र सहयोग संस्थाले दिएको खाद्यान्न र लत्ताकपडाको सहायतामा गुजारा चलाइरहेका छन् ।
अन्यत्र एक टुक्रा पनि आफ्नो जमिन नभएपछि अब सरकारले अन्त व्यवस्थापन नगरिदिएसम्म त्यही बस्ने सिङतानले बताउनुभयो ।
त्रिपालले बेरेको बासस्थान अगाडि ढुङ्गा गाडेर बनाएको ओदानमा छोरीलाई नुहाउन पानी तताइरहनुभएका अर्का सुकुमाया सिङतानको पीडा पनि कम छैन ।
भएको सबै अन्नपात र घर खेत बगाएपछि सोही टहराको सहारामा दिनहरू बिताइरहनुभएका उहाँले बाढीपहिरोबाट आफूहरू विस्थापित भएपछि निर्धक्क रूपमा बस्न र खाना लाउन समस्या भएको बताउनुभयो ।
बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँका बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले दिएको त्रिपाल खाद्यान्न र ओढ्नका लागि कम्बललगायतको सामग्री उपलब्ध गराएपछि त्यसैको साहरामा दिन बिताउँदै आएको उहाँहरूको भनाइ छ ।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विस्थापित परिवारको अन्य ठाउँमा एक टुक्रा पनि जमिन नभएको कारण जग्गाजमिनको व्यवस्थापन गर्न सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिरहेको बताउनुभयो ।
अहिलेसम्म पनि सङ्घीय सरकारको अस्थायी घर निर्माण गर्न दिने भनेको ५० हजार र स्थायी आवास निर्माणको जिम्मा लिएर काम गरेका कुनै पनि सङ्घ संस्थाको सहयोग प्राप्त नभएको पालिकाले जनाएको छ । रासस
प्रतिक्रिया