

विदुर । माघेसङ्क्रान्ति पर्वको अवसरमा मंगलवार नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु जुधाई प्रदर्शनी आयोजना गरिएको छ ।
माघेसङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाई प्रदर्शनीको क्रममा यस वर्ष नुवाकोटको तारुकामा १३ हल, बेत्रावतीमा ११ हलसहित जिल्लाका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाईमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतसहितले अवलोकन गर्नुभयो ।
यसअघि दर्ता भएर जुधाउन १४ हल तयारी अवस्थामा राखेको भए पनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएपछि १३ हल गोरु जुधाइएको हो ।
गोरु जुधाईको अवलोकनपश्चात् मुख्यमन्त्री तामाङले पशु अधिकारको रक्षा गर्दै संस्कृतिको जगेर्ना, पर्यटन प्रवर्द्धन र खेलकुदको एक विधाको रूपमा गोरु जुधाईलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो ।
गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनी (किसान)लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । जुधाईमा संलग्न भएका गोरुको प्रस्तुति, जुधाईको कलाकौशल गराएका र विजेता भएका सबै गोरुका धनीलाई भिन्नभिन्न विधामा सम्मान गरिएको माघे सङ्क्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिनुभयो ।
यसै अवसरमा मंगलवार नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीमा ११ हल गोरु जुधाइएको छ । गोरु जुधाई प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले किसानले पालेका मध्येबाट छनोट गरेर जुधाई प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, संस्कृति र इतिहाससँग जोडिएको गोरु जुधाई संरक्षणमा नगरपालिकाले सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
माघेसङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका-५ दुईपिपल, लिखु गाउँपालिका-३ सूर्यमती रपञ्चकन्यागाउँपालिका-३ पिपलडाँडामा गोरु जुधाई प्रदर्शनी गरेर किसानले माघेसङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाएका छन् ।रासस
प्रतिक्रिया