

ललितपुर । टीकाथली क्षेत्रमा बोरिङ गर्ने क्रममा ग्यास ‘लिकेज’ भएपछि स्थानीय जनता त्रसित भएका छन् । सो घटनापछि ग्यास अन्वेषण तथा भण्डारण, बस्ती व्यवस्थापनलगायत विषयमा स्थानीयवासी विचारविमर्श गरिरहेका छन् ।
महालक्ष्मी नगरपालिका-५, टीकाथलीस्थित बुजुर्ग खोला करिडोर क्षेत्रमा खानेपानीका लागि ‘बोरिङ’ गर्नेक्रममा ग्यास निस्केपछि यसै विषयमा केन्द्रित भई तर्कवितर्क सुरु हुन थालेको हो ।
स्थानीय बासिन्दा महेश महर्जन खानेपानीका लागि बोरिङ गर्ने सिलसिलामा करिब २७५ मिटर गहिराइमा पुगेपछि एक्कासी ग्यास लिकेज भई आगोको लप्का निस्केको घटनात्रलाई सामान्य रुपमा लिन नहुने बताउनुहन्छ ।
टीकाथली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य राजेशकुमार राणाका अनुसार यसअघि पनि बोरिङ गर्नेक्रममा करिब १०० मिटर खन्दा ग्यास निस्केको थियो । खानेपानीको अभाव रहेको टीकाथली क्षेत्रमा बोरिङमार्फत पानी निकाल्ने काम थप जटिल बनेको भन्दै उहाँले सम्बन्धित निकायबाट ध्यान दिन पनि आग्रह गर्नुभयो । रासस
प्रतिक्रिया