

सुर्खेत । शुक्रबार बिहानैदेखि हिमपात र वर्षा हुँदा जुम्लाका किसानलाई राहत पुगेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो । गत २४ घण्टामा ३३ मिलिमिटर वर्षा भएको छ ।
कतिपय उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका-१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिनुभयो । ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका छन् ।
गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए । जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ । जहाँ किसानले आकाशे वर्षात्का भरमा जौँ, गहुँ बाली लगाउने गर्छन् ।
जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिमपातका कारण सहज भएको कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीले बताउनुभयो ।
जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । साथै सदरमुकाम खलङ्गा बजारबाट चल्ने लामो तथा छोटा दूरीका सवारीसाधन फाट्टफुट्ट चलेको तिला कर्णाली यातायातले जनाएको छ । रासस
प्रतिक्रिया