logo
२ चैत्र २०८१, शनिबार

सेवाग्राही विदेशिएपछि १५ हजार परिचयपत्र थन्कियो

सेवाग्राही विदेशिएपछि १५ हजार परिचयपत्र थन्कियो

गलकोट । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् ।

राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएकोले थुप्रो लागेको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यूनमात्र आउने गरेको शाखा प्रमुख उपाध्यायले जानकारी दिनुभयो । दैनिक २० देखि ५० जना सेवाग्राही मात्र परिचयपत्र लिन आउने गरेको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासनमा अहिलेसम्म २८ हजार आठ सय ८५ राष्ट्रिय परिचयपत्र तयार भएर आइसकेको शाखा अधिकृत उपाध्यायले बताउनुभयो । तीमध्ये जम्मा १३ हजार ४७ परिचयपत्र मात्र सेवाग्राहीले लगेका छन्भने १५ हजार ८ सय ३८ परिचयपत्र प्रशासनमै रहेको उहाँले बताउनुभयो ।

परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनः बायोमेट्रिक गर्नुपर्ने भएकाले परिचयपत्र वितरणको सङ्ख्या न्यून भएको हो ।

अहिले वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ । परिचयपत्र वितरणका लागि पनि गलकोट नगरपालिकामा शिविर गर्ने तयारी जिल्ला प्रशासन कार्यालय बागलुङको रहेको छ । रासस

TOP