logo
३० माघ २०८१, बुधबार

जोखिमयुक्त झोलुङ्गे पुलबाट यात्रा गर्दै भक्तजन

जोखिमयुक्त झोलुङ्गे पुलबाट यात्रा गर्दै भक्तजन

देवघाट । प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा एकमहिने महामहोत्सव चलिरहेको छ । महामहोत्सव लागेसँगै भक्तजनको आगमन बढ्दो छ । भीड बढेपछि जीर्ण अवस्थामा पुगेको झोलुङ्गेमार्फत आवतजावत गर्न भक्तजन बाध्य भएका छन् ।

तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलबाट आवतजावतमा समस्या हुनाका साथै भक्तजनले जोखिम मोल्दै यात्रा गरेकाछन् ।

पुल चुँडिने जोखिम भएपछि आवतजावतका लागि सीमा तोकिएको छ । जोखिम न्यूनीकरणका लागि एक पटकमा १०० जना मात्र आवतजावत गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । भीड बढी हुँदा अनुमति कार्यान्वयनमा आउन मुस्किल भएको छ ।

जोखिमबाट बच्नका लागि पुलको दुवैतर्फ प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा त्रिशूली नदीमा रहेको ४४ वर्ष पुरानो उक्त झोलुङ्गे पुलमा तीर्थयात्रीको चाप बढ्दा जोखिम भएकाले सीमा निर्धारण गरिएको उल्लेख गरिएको छ ।

चितवनको दासढुङ्गा, ठिमुरा र नवलपुरतर्फ मोटरेवल पुल छन् । तर आफ्ना सवारी साधन नभई दर्शनका लागि आउने भक्तजनलाई घुमाउरो पर्ने हुँदा पनि जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न भक्तजन बाध्य भएका हुन् ।

TOP