

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील रहेको बताउनुभएको छ । उहाँले ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने बताउनुभयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाममा निर्माण गर्न लागिएको ज्येष्ठ नागरिक मिलन केन्द्रको सोमवार भवन शिलान्यास गर्नुहुँदै उपप्रधानमन्त्री पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) ज्येष्ठ नागरिकको सम्मानका लागि सचेत रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री पौडेलले तत्कालीन अवस्थामा १ सय रुपैयाँ बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आफू अर्थमन्त्री हुँदा ४ हजार पु¥याउने अवसर पाएको उल्लेख गर्नुभयो ।
ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुको ठूलो अर्थ र महत्व रहेको उल्लेख गर्दै उहाँले यसले राज्य ज्येष्ठ नागरिकप्रति जिम्मेवार बन्नुपर्छ भन्ने कुरालाई आत्मसात् गरेको बताउनुभयो ।
रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकका इच्छा र आकाङ्क्षालाई पूरा गर्दै अघि बढिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले अब बन्न लागेको अत्याधुनिक भवनका लागि सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका पूर्बप्रमुख समेत रहनुभएका सांसद वासुदेव घिमिरेले राज्यले गर्नुपर्ने काम समुदायस्तरबाट भएको भन्दै प्रशंसा गर्नुभयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि नगरपालिकाले पनि सहयोग र सहकार्य गर्ने बताउनु भयो ।
रुपन्देहीको तिलोत्तमा-४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा दिवा सेवा प्रदान गर्ने गरी ५ सय ज्येष्ठ नागरिकलाई सेवा दिने लक्ष्यसहित पाँचतले अत्याधुनिक भवन निर्माण गर्न लागिएको केन्द्रका अध्यक्ष ऋषि भण्डारीले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया