

लमही । प्रदेश संरचना नै सङ्घीयताको बलियो आधार भएको सरोकारवालाले बताएका छन् । प्रदेश संरचनालाई बलियो बनाउन सङ्घीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा उनीहरुको जोड छ ।
लुम्बिनी प्रदेशको आठौँ स्थापना दिवसको अवसरमा सोमवार प्रदेश राजधानी राप्ती उपत्यका – देउखुरीमा आयोजित कार्यक्रमका वक्ताहरुले तीन तहको सरकारमध्ये प्रदेश संरचना सङ्घीयताको बलियो आधार भएको उल्लेख गर्दै सङ्घीय शासन बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्थानै सङ्घीय शासन भएको बताउनुभयो । उहाँले जनताको सेवकको रुपमा जनप्रतिनिधि रहेको बताउँदै जनताभन्दा माथि कोही नहुने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्ने गरी लुम्बिनी प्रदेशले उदाहरण दिन सफल भएको बताउनुभयो । प्रदेश तहमा अझै धेरै कानुन तर्जुमाको चरणमा रहेको, सङ्घीय कानुनको निर्माण तथा मापदण्डको विषयमा सङ्घीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।
सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह सङ्घीयताको नयाँ संरचना भएकाले यसको स्थायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन सङ्घीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले संविधानमा अधिकार तल्लो तहसम्म विकेन्द्रित हुने भनिए पनि अझै अधिकार सङ्घमा केन्द्रिकृत रहेकाले प्रदेशलाई बलियो बनाउन अधिकार सम्पन्न बनाइनुपर्ने धारणा राख्नुभयो ।
प्रतिपक्ष दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको बीचमा साझा प्रतिबद्धताको आवश्यकता पर्ने बताउनु भयो ।
प्रदेश स्थापना दिवसका अवसरमा विभिन्न जातजाति, समुदायका संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गरिएका थिए । रासस
प्रतिक्रिया