

मजुवा,गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारका रूपमा पर्यटन क्षेत्र रहेको बताउनुभएको छ ।
मदाने गाउँपालिका-६ स्थित कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनाको शनिवार स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै पर्यटन प्रवर्द्धन गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।
उक्त खानेपानी आयोजना गुल्मी, अर्घाखाँची र प्यूठानको भविष्य निर्धारण गर्ने महत्वपूर्ण योजना रहेको बताउँदै मुख्यमन्त्री आचार्यले यसले स्थानीयस्तरमा रोजगारीका अवसर सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तीनै तहका सरकारले यसलाई साझा आयोजनाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रदेशभित्रका प्रमुख धार्मिक स्थल, पुरातात्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरूलाई आपसमा जोडेर आकर्षक पर्यटन सर्किट निर्माण गर्ने तयारी भइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो । उहाँले यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा राख्नुभयो ।
मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य थापा, पूर्व सहरीविकासमन्त्री रामकुमारी झाँक्री, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, इश्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्कालगायतका व्यक्तिको सहभागिता थियो ।
उक्त अबसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा कङ्के देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनालाई साझेदारी रूपमा अघि बढाउँदै आपसी समन्वय र सहकार्य गर्ने निष्कर्ष निकालिएको छ । रासस
प्रतिक्रिया