

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान गर्न सुरू गरेको छ ।
महानगरको विपद् व्यवस्थापन विभागले यस कार्यलाई तीव्ररूपमा अगाडि बढाएको छ भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरूले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेको छ ।
नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार कामपाको ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ मा ‘ड्राइ राइजर’ जडान भइसकेको छ भने अन्य वडाहरूमा पनि आवश्यकता अनुसार उक्त प्रविधि जडानको काम भइरहेको छ ।
कामपाका कतिपय भित्री गल्ली दमकल र एम्बुलेन्स छिर्न नसक्ने किसिमका छन् । साँघुरा गल्लीमा आगलागी वा अन्य विपत्जन्य घटना हुँदा नियन्त्रण कठिन हुने हुँदा उक्त प्रविधि जडान गरिएको उहाँको भनाइ छ ।
ड्राइ राइजर पाइप खनेर भित्री गल्लीहरूमा पु¥याइएको छ भने ठाउँठाउँमा दमकलको पानी पठाउने पाइप जडानको लागि ‘आउटलेट’ राखिएको छ । करिब ३० मिटरको अन्तरमा आउटलेटहरू राखिएको नगर प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभएको छ ।
दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुक्खा पाइप लाइन ड्राइ राइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई ‘वेट राइजर’ भनिन्छ ।
आगो नियन्त्रण गर्नका लागि प्रयोग गरिने ड्राइ राइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा ‘इनलेट भल्व’ राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दूरीमा आउटलेट राखिएका हुन्छन् । दमकलको पानी ‘इनलेट’मा राखेपछि आवश्यकताका आधारमा ‘पाइपलाइन’ का बीचमा जुनसुकै ‘आउटलेट’ खोले पनि पानी प्राप्त हुन्छ । रासस
प्रतिक्रिया