विराटनगर । मोरङ जिल्लाको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो-२०२५’ आयोजना गर्न लागेको छ ।
उद्योग सङ्गठनले विराटनगर महानगरपालिका-१४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म एक्स्पो (व्यापार तथा औद्योगिक मेला) आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाका अनुसार एक्स्पोमा नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका स्टार्टअप भिजन, कोशी ह्याकाथुन, रोजगार, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि, अटोमोबाइल्सका, औद्योगिक कर्पोरेट, कृषि, पर्यटन, खाद्यका स्टल रहने उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत लगाएतका कार्यक्रमका अतिथिहरुले एक्स्पो आयोजनाले यस क्षेत्रमा आर्थिक कारोबारमा वृद्धि हुने विचार ब्यक्त गर्नुभयो ।
एक्स्पो व्यवस्थापन समितिका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा ९ वटा व्यापारी कक्ष अन्तर्गत दुई सय ६८ स्टलका लागि सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको बताउनु भयो । रासस
प्रतिक्रिया