जनकपुर । मधेश प्रदेशका स्थानीय तहमा लोकसेवाबाट सिफारिस भएका कर्मचारीहरु पदस्थापनाको माग गर्दै अहिले आन्दोलनमा उत्रेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हातामा स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासन लगायत विभिन्न समूहका १ सय ६० कर्मचारीले कार्यालयको काम छोडेर धर्नामा बसेका हुन् ।
पटक–पटक लिखित तथा मौखिक जानकारी गराए पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको आन्दोरत कर्मचारीको गुनासो छ ।
एक वर्ष अगाडि सङ्घीय लोकसेवा आयोगबाट उत्रिर्ण भई मधेश प्रदेशमा पदस्थापनाका लागि सिफारिस भएका कर्मचारी कामविहीन भएपछि आन्दोलनमा उत्रेको उनीहरुको भनाइ छ ।
स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक बीरबहादुर सलौराले सम्बन्धित निकायले सुनवाइ नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
मधेश प्रदेशमा एक हजार कर्मचारी कार्यरत रहेका छन् । सङ्घीय लोकसेवा आयोगबाट अन्य प्रदेशमा सिफारिस भएका कर्मचारीको पदस्थापना भए पनि मधेश प्रदेशका कर्मचारीको पदस्थापना नभएको उहाँले बताउनुभयो ।
पदस्थापना नभएकाले थप सेवा सुविधा पाउन समस्या भएको आन्दोलनरत कर्मचारीको भनाइ छ । उनीहरूले आन्दोलन गर्नुपूर्व मुख्यमन्त्री सतिशकुमार सिंहलाई लिखितरूपमा पदस्थापनाको लागि आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । रासस
प्रतिक्रिया