सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख ९२ हजार ८ सय ४३ रूपैयाँ सङ्कलन भएको छ ।
यही मङ्सिर २१-२८ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान-विज्ञान महायज्ञबाट उक्त रकम सङ्कलन भएको हो ।
महायज्ञ सञ्चालन मूल आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत सप्ताहबाट सङ्कलित रकम सार्वजनिक गर्दै सो रकमबाट मानव सेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन अर्थात् ‘मानव स्मारक’ निर्माण गर्ने जनाएको छ ।
मूल आयोजक समितिका संयोजक डा नवराज केसीले पाँच करोडको लक्ष्य राखिएकोमा करिब दोब्बरले दान संकलन भएको बताउनुभयो । संयोजक केसीले भन्नुभयो, “महायज्ञमा एक रूपैया देखि एक करोडसम्म रकम दान गर्नुभएको छ । यसमा हामीले समुदायलाई जोडेका छौँ ।”
महायज्ञबाट एक करोड ९७ लाख ६६ हजार ६५ नगद, एक करोड ३३ लाख २७ हजार छ सय एक क्युआर तथा ‘अनलाइन’ माध्यमबाट प्राप्त भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष टीकाराम चपाइले जानकारी दिनुभयो ।
महायज्ञमा ३७ लाख ८८ हजार नौ सय २१ रकम बराबरको चेक प्राप्त भएको र पाँच करोड चार लाख १६ हजार ३२ स्थानीय तह र विभिन्न सङ्घसंस्थाहरूले दिने प्रतिबद्धता गरेको उहाँले बताउनुभयो । त्यसमा ५७ लाख ७९ हजार पाँच सय ८२ व्यक्तिगत प्रतिबद्धता गरिएको छ ।
महायज्ञ मूल आयोजक समितिका अनुसार कलश यात्रामा प्रयोग भएको कलश बिक्रीबाट ४२ लाख ७४ हजार आठ सय ८२ र दान पेटिकामा तीन लाख २६ हजार चार सय ५५ तथा किताब बिक्रीबाट १३ हजार तीन सय पाँच सङ्कलन भएको छ ।
महायज्ञ सञ्चालनका क्रममा ५० लाख ७४ हजार ८७ महायज्ञ सञ्चालनका क्रममा प्रचार-प्रसार, यातायात, खाद्यान्न तथा भान्सा, विद्युत्, इन्धन, अतिथि सत्कार खर्च भएको आयोजक समितिले जनाएको छ ।
सङ्कलित रकमबाट वीरेन्द्रनगर नगरपालिका-११ स्थित गङ्गामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले प्रदान गरेका २९ बिघा जग्गामा मानव सेवा आश्रमको प्रदेशस्तरीय ‘मानव स्मारक’ भवन निर्माणको कार्य थालनी गरिने डा केसीले बताउनुभएको छ । भवन निर्माणका लागि ९ देखि ११ करोड लागत लाग्ने अनुमान गरिएको छ ।
मानव सेवा आश्रमले ‘मानव स्मारक भवन निर्माणका लागि एउटा छुट्टै समिति गठन गरी सो भवन निर्माण कार्य सम्पन्न गर्ने बताइएको छ । कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट दिने घोषणा गरेको छ ।
मानव स्मारक भवनमा असहाय मानवको आश्रम मात्र नभई मानव धर्म तथा मानवता अध्ययन केन्द्रको समेत स्थापना गरिने बताइएको छ ।
मानव धर्मका लागि आयोजना गरिएको उक्त महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथा वाचक रहेर निःशुल्क कथा वाचन गर्नुभएको थियो । रासस
प्रतिक्रिया