logo
४ माघ २०८१, शुक्रबार

हुम्लामा हिमपात हुँदा हवाई सेवा अवरूद्ध

हुम्लामा हिमपात हुँदा हवाई सेवा अवरूद्ध

हुम्ला । हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरूद्ध भएको छ । सोमबार रातिदेखि जिल्लामा हिमपात हुँदा हवाई सेवा अवरूद्ध हुन पुगेको हो ।

नेपालगञ्जबाट दैनिक उडान भर्दै आएका जहाजले हुम्लामा हिमपातका साथै मौसम खराब हुँदा आफ्नो उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण कार्यालय हुम्लाका प्रमुख मोहन सिंहले बताउनुभयो ।

नेपालगञ्जदेखि निजी जहाज समिट, सीता र ताराका साथै सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले आफ्नो उडान भर्दै आएका थिए । मङ्गलबार जिल्लाको मौसम खराब हुँदा जहाजले आफ्नो उडान गर्न नसकेको बताइएको छ ।

यस्तै सदरमुकाम सिमकोटदेखि चल्दै आएका सवारीसाधनसमेत अवरूद्ध भएका छन् । हिमपातले सिमकोटदेखि खार्पु, उत्तरी हिल्सालगायत गाउँमा पुग्ने सडकमा हिउँले आवतजावतमा समस्या हुने भएपछि सवारीसाधनसमेत आवतजावतमा रोकिएका छन् ।

सदरमुकाम सिमकोटमामंगलवार बिहानसम्म दुई इञ्चसम्म हिउँ जमेको थियो भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको बताइएको छ ।जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ ।

चिसोका साथै दोस्रो पटक हिमपात हुँदा आवतजावतमा समस्या बनाएको छ । हिमपातले उत्तरी नाम्खासहित सिमकोटको जनजीवन थप प्रभावित भएको छ । चिसोले यहाँका नागरिकलाई दैनिक जीवनमा कष्टकर बनाएको छ ।

ताजा अपडेट
TOP