राजविराज । सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको हो ।
राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा सुरुभएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटनमन्त्री पाण्डेले विमानस्थलको रात्रिकालीन सेवाले अर्थतन्त्रलगायत विविध क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताउनुभयो । उहाँले विविधितापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवद्र्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने धारणा राख्नुभयो । यसअघि मन्त्री पाण्डेले एयरफिल्ड लाइटिङ सिस्टमको उद्घाटन गर्नुभएको थियो ।
त्यसअवसरमा जनमत पार्टीका अध्यक्ष सीके राउतले राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुनु गौरबको विषय भएको बताउनुभयो । उडान सङ्ख्या बढाएर सेवालाई निरन्तरता दिनेतर्फ ध्यान दिनु पर्नेमा जोड दिदै सहयोग गर्ने सबैलाई अध्यक्ष राउतले धन्यवाद दिनुभयो ।
नेपाली कांग्रेसका नेता एवं पूर्वपर्यटनमन्त्री जितेन्द्रनारायण देवले राजविराज विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन हुनु गौरवको विषय रहेको उल्लेख गर्दै नियमित उडानका लागि मन्त्रालय र प्राधिकरणलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नेकपा (एमाले)का नेता सुमन प्याकुरेलले नेपालको पुरानो विमानस्थल सप्तरीको मात्रै नभई सुनसरीको पश्चिम दक्षिण भेगदेखि सिरहासम्मका जनतालाई सेवा दिने यो विमानस्थल उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
सप्तरी क्षेत्र नं ३ का सांसद दिनेशकुमार यादवले पटक पटक बन्द हुँदै आएको राजविराज विमानस्थलमा नियमित उडान सञ्चालनका लागि सबैको सहयोग चाहिने खाँचो औंल्याउनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले राजविराजमा रात्रिकालीन उडानले समग्र विकासको सम्भावनाको ढोका खुलेको उल्लेख गर्नुभयो ।
राजविराज विमानस्थलमा यसअघि बुद्ध एयरले दिउँसोको समयमा दैनिक एउटा उडान गरिरहेको थियो । सोमवार बुद्ध एयरले काठमाडौँदेखि राजविराजको रात्रिकालीन व्यवसायिक उडान सुरु गरेको हो ।
योसँगै रात्रिकालीन उडान हुने विमानस्थलको सङ्ख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालीन उडान हुन्छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा आइएफआर नियम अनुसार उडान सुरु भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द हुने र डिले हुने समस्याबाट यात्रुहरुले छुटकारा पाउनेछन् । रासस
प्रतिक्रिया