logo
४ माघ २०८१, शुक्रबार

किरात समुदायको उधौली चाड हर्षोल्लासका साथ मनाइयो

किरात समुदायको उधौली चाड हर्षोल्लासका साथ मनाइयो

ललितपुर । किरात समुदायले उधौली चाड हर्षोल्लासका साथ मनाएका छन् । ललितपुर महानगरपालिका-१४ नखिपोटमा किरात राई यायोक्खा समुदायले साकेला सिली नाच्दै उत्साहका साथ उधौली चाड मनाएका हुन् ।

यस चाडको उपलक्ष्यमा किरात राई यायोक्खा, ललितपुर जिल्ला कार्यसमितिले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । किराँत समुदायका युवतीहरू आफ्नो मौलिक वेशभूषा र गहनामा सजिनाका साथै युवाहरू दौरासुरुवाल र टोपीमा सजिएर ढोल र झ्याम्टा बोकेर साकेला नाच्दा माहोल उल्लासमय देखिन्थ्यो ।

समितिका अध्यक्ष भूपेन्द्र पुमा राईले भन्नुभयो, “आजका दिन प्रकृतिले राम्रो साथ दियो भन्ने अर्थमा प्रकृतिलाई पूजा गरिन्छ र धन्यवाद दिइन्छ । उभौलीमा अन्न बाली छरिन्छ, रोपिन्छ । त्यो उधौलीमा उठाइन्छ र पितृ पुर्खालाई चढाउने काम हुन्छ ।”

हरेक वर्षको मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली चाडलाई किराँत समुदायमा फरक-फरक नाम दिए पनि समग्रमा उधौलीको नामले चिनिन्छ । भूमिपूजा गरेर किरात महिला तथा पुरुष आफ्नो मौलिक वेशभूषामा सजिएर साकेला सिली नाच्ने गर्दछन् । रासस

ताजा अपडेट
TOP